राँझा । दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जङ्गलमा बुधवार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।
आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस-६ का ५५ वर्षीय भैरव विकको उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो । भेरी अस्पतालमा उपचाररत् विकको गएराति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए।
उनका अनुसार भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।
भेरी अस्पतालमा आठविस-६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नविन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको डा चापागाईंले बताए। दैलेखको आठविस-६ माल्या जङ्गलमा बुधवार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो ।