मान्म । कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् ।
बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका-६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन् । आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुङ्गेल रावत घाइते भएकी छन् ।
सो घटनामा परी स्थानीय धनमान विकसमेत घाइते भएका छन् । घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए। आरोपित बुढालाई सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् ।
आक्रमणपछि आरोपित बुढा फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक बमले बताए। बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।
तर, घटनापछि बुढा भने फरार थिए । घरमा आएको जानकारी पाएपछि रावतको नेतृत्वमा प्रहरी टोली पलाँता-६ सैन पुगेको थियो । घरमै सुतिरहेका बुढा पक्राउ परे पनि स्थानीयको आक्रमणपछि भने फरार भएका प्रहरीले जनाएको छ ।