ललितपुर । ललितपुरको चापागाउँ-लगनखेल सडकखण्डमा चल्ने यात्रुबाहक बसमा ८२० लिटर मदिरा लिएर हिडिरहेको अवस्थामा प्रहरीले बस चालकलाई पक्राउ गरेको छ ।
आज बिहान ८:०० बजे ललितपुरको गोदावरी नगरपालिका-११ स्थित चापागाउँ-लगनखेल सडक खण्डमा ललितपुरको दक्षिण भेगबाट आउने यात्रु बाहक भाडाको बसमा अवैध रुपमा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई घरेलु मदिरा ओसारपसार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बा. ३ ख ६२५७ नम्वरको यात्रुबाहक बस चालक ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लु घर भएका वर्ष ३७ को दिपक स्याङ्तान तामाङ्ग रहेका छन् ।
बसभित्र यात्रु बस्ने सिटको बिच बिचमा २० लिटर दरको ४१ ग्यालेनमा राखिएको ८२० लिटर घरेलु मदिरा सहित तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए ।