काठमाडौं । काठमाडौंको तीनकुनेदेखि नरदेवीसम्म ट्याक्सीमा यात्रा गर्ने क्रममा छुटेको झोला सम्वन्धित व्यक्तिलाई फिर्ता गरिएको छ ।
बुधबार बिहान १०:३० बजे सुरेश विश्वकर्मा नाम गरेका यात्रुले झोलामा ८० तोलाबराबरका चाँदीका गरगहना र ८० लाल बराबर सुनका गरगहना बोकेको झोला बा १ ज ७०६९ नम्बरको ट्याक्सीमा छुटेको थियो ।
गरगहनासहितको झोला ट्याक्सीमा छुटेपछि विश्वकर्माले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा निवेदन दिएका थिए ।
उनको निवेदनपश्चात ट्राफिक प्रहरीले उक्त ट्याक्सीचालकसँग सम्पर्क गर्दा उनले उक्त झोला सुरक्षित राखेको बताएका थिए ।
त्यसपछि चालकले सम्वन्धित धनीलाई गरगहनासहितको उक्त झोला ट्राफिक प्रहरी कार्यालयमा हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सार्वजनिक यातायातमा यात्राको दौरान आफ्नो सामान छुटेको खण्डमा ट्राफिक प्रहरीमा खबर गर्न अनुरोध गरेका छन् ।