काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १८ दिनपछि आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवासको फोहर व्यवस्थापन सुरु गरेको छ ।
गत शुक्रवार सर्वोच्च अदालले तीन दिनभित्र सबै फोहर व्यवस्थापन गर्न काठमाडौँ महानगरलाई आदेश जारी गरेको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तीन दिनभित्र फोहरको व्यवस्थापन गर्न कामपाका नाममा आदेश जारी गरेको थियो ।
जनताकै हितका लागि काम गर्दा केन्द्र सरकारले आफूलाई पटक-पटक असहयोग गरेको आरोप लगाउँदै गत चैत २५ गते कामपाको प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत मुख्य प्रशासनिक निकाय सिंहदरबारलगायतको फोहर नउठाउने बताएका थिए ।
गत चैत २५ देखि नै यी तीनै स्थानको फोहर व्यवस्थापन हुन सकेको थिएन । अदालतको आदेशकै आधारमा कामपाले आजदेखि उक्त स्थानहरुको फोहर व्यवस्थापनको काम थालेको हो । १८ दिनदेखिको फोहर व्यवस्थापन गर्नुपर्ने भएकाले सबै फोहरको अन्तिम व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने कामपाले जनाएको छ ।
अहिले मुख्य प्रशासनिक निकाय सिंहदरबारमा ७० टन, राष्ट्रपति कार्यालयमा ३५ र बालुवाटारमा १५ टन फोहर जम्मा भएको कामपाको अनुमान छ । कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार केन्द्र सरकारले स्थानीय सरकारलाई सहयोग नगरेकाले कामपाले यस्तो कदम चाल्नुपरेको बताए।
लम्सालका अनुसार आजदेखि फोहर व्यवस्थापनको काम सुरु भएको छ । कम्तीमा चार दिनभित्र तीनैवटै स्थानको सबै फोहरको अन्तिम विसर्जन हुन्छ । गत मंसिरमा थापाथलीस्थित बागमती किनाराका सुकुम्बासी बस्ती हटाउने काम होस् या गत चैत २४ गते तीनकुनेदेखि सिनामङ्गलसम्मको सुकुम्बासी बस्तीमा डोजर चलाउनका लागि पनि केन्द्र सरकारको सहयोग नरहेको गुनासो कामपाको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले उक्त स्थानमा फोहर ओसार्छन् ।
अन्तिम फोहर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक एक हजारदेखि एक हजार दुई सय मेट्रिक टनसम्म फोहर जाने गरेको छ । उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको छ ।