कीर्तिपुर । कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् । अधिकारी यही वैशाख १ गते वडा नं. ४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदै गर्दा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए।
उनी चढेको मोटरसाइकल पुष्पलाल उद्यान नजिक दुर्घटना भएको थियो । टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
उनी गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए।