काठमाडौं । स्लोभाकियामा वैदेशिक रोजगारीको लागि पठाइदिने भन्दै रकम लिएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुरको नख्खीपोट बस्ने वर्ष ४६ को एकराज नेम्बाङ रहेको प्रहरीले जनाएको छ ।
उनले वैदेशिक रोजगारीको लागि स्लोभाकिया जानको लागि प्रतिव्यक्ति रु. १५ लाख रुपैयाँ लाग्ने, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु मासिक रु. २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई ठगि गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागमा आफूले नेम्बाङलाई स्लोभाकिया जानको लागि १२ लाख रुपैयाँ दिएको तर, उक्त रकम लिएर उनी फरार भएको भन्दै विजय लिम्बुले निवेदन दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनको टोलीले नेम्बाङलाई पक्राउ गरेको हो ।
नेम्वाङलाई आज गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।
४६ वर्षीय नेम्वाङबाट अन्य व्यक्तिहरू पनि ठगीमा परेको भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।