काठमाडौं । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको टिजरमा पुष्पा तिरूपति जेलबाट फरार भएको प्रसंगलाई समेटिएको छ। प्रहरी पुष्पाको खोजीमा छन् भने सहरमा नारा-जुलुस भइरहेको छ। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ।
तीन मिनेट लामो यो इन्ट्रो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ ।
फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ । यो ग्याङस्टर फिल्मले एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गर्छ ।
फिल्मको पहिलो भाग नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो । यो फिल्मले अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित गर्न भूमिका खेल्यो । यो फिल्मलाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।
‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ।