सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरीदका लागि सम्झौता गरेको छ ।
सम्झौतामा गाउँपालिकाले खरीद गरेर शाखालाई उपलब्ध गराउनुपर्ने परिमाण र बालीको प्रकार खुलाउनुपर्ने उल्लेख छ । सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष कमल छत्यालले हस्ताक्षर गरे ।
अदानचुलीबाट लिमिटेडले छ प्रकारका रैथाने बाली खरीद गर्न सम्झौता गरेको हो । पहिलो चरणमा एक सय क्विन्टल सिमी प्रतिकिलो रु एक सय ४०, मास ३० क्विन्टल प्रतिकिलो रु एक सय ६० तथा फापर, कोदो, चिना र कागुनो बीस क्विन्टल खरीद गर्न सम्झौता भएको छ ।
चिनो र कागुनो प्रतिकिलो रु ६५, फापर रु ९० र कोदो प्रतिकिलो रु ६० मा खरीद गर्न सम्झौता भएको छ । पहिलो चरणमा एक सय ५० क्विन्टल रैथाने बाली खरीदको सम्झौता भएको शाखा प्रमुख अधिकारीले बताए।
बालीको प्याकेजिङ गाउँपालिकाले तथा काठमाडौँसम्मको ढुवानी लिमिटेडले गर्नेछ । शाखाले यसअघि सिमकोट गाउँपालिकासँग चार किसिमका रैथाने बाली खरीदका लागि सम्झौता गरेको थियो । सिमकोटबाट सुर्खेतसम्म ढुवानी गरेको खाद्यान्नको हवाई ढुवानी भाडा प्रतिकिलो रु ४५ तिर्नुपर्छ ।
अदानचुली सडक सञ्जालसित जोडिएकाले प्रतिकिलो रु १२ मा ढुवानी भाडा तिर्नुपर्ने छ । रैथाने बालीको प्रवर्द्धन र बजारीकरण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरीद गर्न लागेको हो ।