काठमाडौँ । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टि श्रेष्ठमै केन्द्रित छ ।
गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् । धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमा आएकी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको यसमा देख्छिन् ।
प्रेमालाई आकाश गुण्डा झैं लाग्छ । थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ । आफ्नो गल्तीलाई भुलाउँदै क्षमा मागेकी प्रेमा विस्तारै आकाशसँग नजिकिँदै प्रेममा पर्छिन् । यद्यपी भौगोलिकसँगै विचार र व्यवहारमा समेत फरक देखिएको सो जोडीको प्रेममा समस्या आउँछ ।
दुवै छुटिने बाटोमा पुगेपछि आकाश सडक दुर्घटनामा पर्छन् । निहारिकाको कारबाट भएको दुर्घटनाविरुद्ध आकाशले प्रहरीमा मुद्दा नहालेपछि दुवैको भेटघाट बढ्छ । आकाशको व्यक्तित्वले निहारिका आकर्षित भएपछि उनीसँग प्रेम बस्छ ।
यी दुवैको विवाह हुनै लाग्दा प्रेमा आइपुग्छिन् । त्यसपछि आउने आरोहअवरोहलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा निर्देशक भण्डारीले भनेझैं आफू प्रस्तुत भएको अभिनेत्री खड्काले बताइन् ।
“मलाई सुरूमा यसमा सुहाउँदीन कि भन्ने लागेको थियो । यद्यपी निर्देशकले भनेपछि विश्वस्त भएँ ।”, उनले भनिन्, “प्रेम र जीवनको फरक पाटोलाई प्रेमाले बुझाइन् । यो विसुद्ध प्रेमकथामा बनेको चलचित्र हो”,
अभिनेत्री खड्काझैं अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो । उनले यसमा निर्वाह गरेको भूमिका निर्देशककै अनुसार गरिएको बताए।
“यसमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ । आकाशमार्फत प्रेमको फरक पाटोलाई चित्रण गर्न खोजेका छौं”, अभिनेता क्षेत्रीले भने, “प्रेम र आकाशको प्रेममा आउने आरोहअवरोहले अहिलेको पुस्ताको सम्बन्धमा आउने दरार र समाधान बुझाउँछ । यस्तो भूमिकामा देखिने मेरो चाहना पूरा भयो ।”
निर्देशक भण्डारीले भेटिएकी एक युवतीको भोगाइलाई ‘प्रेमा’मा मिसाएर चलचित्र लेखेको बताए।
“मैले कतै प्रेमाजस्तै पात्र भेटेको थिएँ । अहिले प्रेममा स-साना कुराले पनि समस्या आउने गरेका छन् । यी सब क्षणिक हुन् । चलचित्र हेरेपछि त्यो थाहा हुन्छ”, उनले भने, “द्वन्द्वप्रधान चलचित्रमार्फत निर्देशकमा पाइला टेकेँ । यसपछि प्रेमकथानक चलचित्र चार-पाँच वर्षसम्म बनाउँदिन ।”
प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा गरिएको हो । चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बाँस्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन्।
चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो । रासस