बाग्मती । मकवानपुरस्थित मातृभूमि साहित्य समाजले विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कृत गरेको छ ।
उक्त समाजको २३ औँ वार्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रु २० हजार राशिको नित्यगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझीलाई र रु २१ हजार राशिको मायादेवी मातृभूमि साहित्य पुरस्कार काठमाडौँका साहित्यकार सीता विष्टलाई प्रदान गरिएको हो ।
रु १५ हजार राशिका क्षेत्रबहादुर बानियाँ स्मृति मातृभूमि पुरस्कार मकवानपुरका साहित्यकार रमेश मोहन अधिकारीलाई र राजकुमार बानियाँ स्मृति मातृभूमि पुरस्कार रौतहटका साहित्यकार हरिकृष्ण काफ्लेलाई प्रदान गरियो ।
त्यस्तै, रु दशहजार राशिका हातेमाले मातृभूमि युवा सिर्जनशील युवा पुरस्कार हेटौँडाका राष्ट्रिय गायक सुनिल कर्माचार्यलाई, मायादेवी मातृभमि साहित्य पुरस्कार बाराको कलैया निवासी साहित्यकार अप्सरा पुडासैनीलाई र मञ्जु सुवेदी मातृभूमि पुरस्कार मकवानपुरकी पत्रकार सम्झना कार्की (नानीमैया)लाई प्रदान गरियो ।
यसैगरी, रु सात हजार पाँच सय राशिको मङ्गलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल पुरस्कार हेटौँडाका बालगायक चिराग डङ्गोललाई प्रदान गरियो । समाजका अध्यक्ष माधव पोखरेलको सभातित्वमा आयोजित सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितवहादुर घलानले पुरस्कार वितरण गरेका थिए।