काठमाडौँ । अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु २० हजार नगदसहित अभिनन्दन गरेको छ ।
समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो । सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कार शान्ति शर्मालाई प्रदान गरिएको छ । रु १० हजार नगदसहित उनलाई सम्मानित गरिएको हो । यसैगरी, कार्यक्रममा समाजसेवी मुसुरी लामालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल र उपप्रमुख सान्नानी लामालाई बधाई, शुभकामना र अभिनन्दन पत्र प्रदान गरिएको थियो । सो अवसरमा कलाकार जानुका भट्टराई, केशवराज मैनालीलगायतले ‘बेचिएकी चेली’ नामक नाटक प्रस्तुत गरेका थिए।
नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा-प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परालाई तोडमोड गर्ने कामको सुरुआत हुन थालेकोप्रति आपत्ति जनाए। तोडमोड गर्ने काम नरोकिएमा त्यसविरुद्ध लाग्न बाध्य हुने उनको भनाइ थियो ।
नगरप्रमुख रिसालले नगरपालिकालाई साहित्यको हब बनाउन क्रियाशील संस्थाका रुपमा अभिनवलाई लिएको बताए। नगरभित्र रहेका सबै साहित्यिक संस्थालाई सहयोग गरिएको उनले बताए। उपप्रमुख लामाले साहित्य उत्थानको काममा सहयोग गर्न नगरपालिका तत्पर रहेको उल्लेख गरिन् । महिला साहित्यकारलाई उत्प्रेरणा दिने काममा पनि नगरपालिकाले विशेष सहयोग गर्ने उनको भनाइ थियो ।
अभिनन्दित व्यक्तित्व प्रभातले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, साङ्ख्य (देवहुतिद्वारा प्रतिपादित) र बौद्ध दर्शन गरी छवटा दर्शन नेपाली भएकाले सबैको प्रवर्द्धनमा साहित्य सृजना हुनुपर्नेमा जोड दिए । समाजका अध्यक्ष वेदमणि घिमिरेले प्राज्ञताको प्रचलित मापदण्ड विपरीत प्रज्ञा-प्रतिष्ठान गठन गरेकामा सुधार हुनुपर्ने माग गरे ।