जुम्ला । बर्थिङ सेन्टर गाउँबाट टाढा हुँदा जुम्लाको तिला गाउँपालिका-७ का महिलालाई सास्ती हुने गरेको छ । बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई नियमितरुपमा जाँच गराउन समस्या भएको हो ।
ग्रामीण भेगमा यातायातको असुविधा छ । त्यसैले, सुत्केरीलाई बर्थिङ सेन्टर जान समस्या हुने गरेको छ । उनीहरु घरमै सुत्केरी हुने गरेका छन् । “नजिक बर्थिङ सेन्टर छैन, टाढाका स्वास्थ्य संस्थामा जान यातायातको असुविधा छ”, तिला-७ पोखरी गाउँकी २६ वर्षीया आशा रोकायाले भनिन्, “बाटो भिरालो छ, बोकेर लैजान सकिँदैन ।”
गर्भवती भएको अवस्थामा पटक-पटक स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले पोषण भत्ताको सुविधा दिएको छ । तर, यहाँका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुँदा उक्त सुविधाबाट पनि वञ्चित भएका छन् । सडकको ट्र्याक खोल्ने काम भर्खर हुँदैछ ।
पोखरी गाउँदेखि दुई घण्टाको दूरीमा घोडेगाउँ स्वास्थ्यचौकी रहेको छ । त्यहाँ बर्थिङ सेन्टर भए पनि भौगोलिक विकटताका कारण सुत्केरीलाई पुग्नै सकस हुन्छ । तिला-६, ७, ८ र ९ वडामा सडक निर्माण गरिए पनि यातायातका साधन पुग्न सकेका छैनन् । रारा सेरीस्थित तिला नदीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ ।
पुल बनेपछि मात्र ती वडा सडक सञ्जालसित जोडिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायले बताए। गाउँमा सडक सञ्जाल विस्तार भएपछि बर्थिङ सेन्टर पहल गरिने उनको भनाइ छ ।