पितृसत्ताकाे अहंकारले ग्रसित हाम्राे याे समाज ।
जर्जर बनेकाे बेला ।।
त्रसित भएर बाँचेकाे छ जिन्दगी ।
किनभने, यहाँ म अनुमान गर्न सक्दिन ।।
जुनसुकै बेला म बलात्कृत भइ मारिनसक्छु ।
किनभने यतिबेला राज्यसत्ता र मेराे देशकाे कानून र कानूनकाे व्याख्याता हाम्राे न्यायालयले ।।
हरेक दिन पीडकहरुकाे पक्षमा आफ्नाे फैसला सुनाउँदै हाम्राे आत्मसम्मानमाथि दिनहूँ बलात्कार गरेकाे छ ।
कुनैदिन लाग्थ्याे राज्यसत्ता र कानून हामी नागरिककाे संरक्षक हाे।।
तर, म स्वयं गलत रहेछु ।
किनकि त्यही कानूनका दफाहरु बलात्कारीकाे संरक्षक बनेर उभिएका छन् ।।
जुनदिन मैले बालुवाटारकाे सरकारी निवासमा मलाई बलात्कार गर्ने अपराधी सरकार प्रमुखबाट अभिनन्दित भएको देखेँ।
म गाैशाला-२६ अवाक् बनेँ ।।
र, लाग्याे याे समाज, देश र कानून महिलामैत्री हुँदै हाेइनन्।
जब-जब बलात्कारीकाे पक्षमा अदालती फैसला आयाे।।
महिला अधिकारवादीहरुले न्यायकाे जीत भन्दै लेखे।
त्यसैले मेराे देश न्याय मरेकाे देश हाे।।
विचारले कुपाेषित ए पितृसत्ता।
लज्जाविहीन ए राज्यसत्ता।।
हाम्राे तिराेबाट पाेषित ए सरकार।
न्याय मरेकाे देशकाे ए न्यायालय।।
तिमीलाई सबै छूट छ।
त्यसैले तिमी पनि आऊ।।
मलाई फेरि पनि ।
दिनदहाडै बलात्कार गर।।
मेराे हत्या गर।
किनकि म गाैशाला-२६ हुँ ।।
दाङ । हाल: पाेर्चुगल