धनगढी । कैलालीमा चैते धान खेतीका लागि किसान बेर्ना राख्न थालेका छन् । कैलालीको भजनी नगरपालिका-३ र ८ लाई चैते धानका लागि पकेट क्षेत्र मानिने गरिएको छ ।
कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार भजनी नगरपालिका-३ र ८ मा सबै भन्दा बढी चैते धान खेती हुने गरेको छ । त्यसबाहेक भजनीका अन्य वडासँगै कैलारी गाउँपालिका, जोशीपुर नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैते धान हुने गरेको कृषि ज्ञान केन्द्र प्रमुख शर्माले बताए ।
भजनीलगायत आसपासको क्षेत्र बाढी प्रभावित क्षेत्र भएका कारण बर्से धान नष्ट हुन थालेपछि त्यहाँका किसान चैते धानमा आकर्षित हुने गरेका कार्यालय प्रमुख शर्माले बताए ।
‘बर्षायाममा बाढीका कारण त्यहाँ धान हुँदैन,’ शर्माले भने, ‘गहुँ खेती गर्न पनि ढिलाइ हुने गरेको छ । त्यसैले त्यहाँ चैते धान विस्तार गरी नागरिकलाई खाद्यान्न अभाव हुन नदिने योजना अनुसार प्रदेश सरकारले चैते धान खेती विस्तार गर्दै आएको छ ।’
उनले उत्पादित धानको बजारी करणका लागि पनि प्रदेश सरकारले सहयोग गर्दै आएको बताए । ‘चैते धान विशेष गरी चिउरा बनाउने प्रयोजनमा बढी प्रयोग हुने गरेको छ,’ शर्माले भने, ‘मिलमा पनि धान खरिद हुन्छ, कृषि ज्ञान केन्द्रले मिल र चिउरा मिलसँग समन्वय गरी उचित मूल्यमा धान विक्री गर्ने वातावरण मिलाउने गरेको छ ।’
कैलालीमा कुल क्षेत्रफलको १ हजार ८० हेक्टर जमिनमा चैते धान खेती हुने गरेको छ । त्यसबाट ५ हजार ६१६ मेट्रिक टन धान उत्पादन हुने गरेको कार्यालय प्रमुख शर्माले बताए ।
‘यस वर्ष पनि सोही अनुपातमा धान उत्पादन हुने अनुमान गरिएको छ,’ कार्यालय प्रमुख शर्माले भने, ‘तर, यस वर्ष थप ५० देखि एक सय बिघा जमिनमा पनि चैते धान खेती हुन सक्ने देखिएको छ, त्यसो भए उत्पादन पनि बढ्न सक्दछ ।’
कैलालीमा चैते धान खेतीका लागि बिउ वितरण भइसकेको र किसान बिउ राख्न सुरु गर्न थालिसकेका उनले बताए ।
कार्यालय प्रमुख शर्माका अनुसार भजनीमा ढिलो धान रोपेमा धान पाक्न ढिलो हुने र असारमा वर्षाका कारण धान डुब्न सक्ने जोखिम हुने हुँदा फागुन पहिलो साताभित्रै बिउ राखेर चैतको सुरुमै रोपिसक्नु पर्ने हुन्छ ।
बिउ राख्न ढिलाइ भएको अवस्थामा सोझै धान छरेर पनि खेती गर्न सकिने भए पनि त्यसका लागि किसानले कृषि प्राविधिकसँग समन्वय गर्नुपर्ने हुन्छ ।
‘बिउ राख्न नपाएका किसानलाई सिडड्रल (बिउ छर्ने मेसिन) मार्फत पनि सोझै खेतमा धान छरेर खेती गर्न सकिन्छ,’ कार्यालय प्रमुख शर्माले भने, ‘त्यसरी खेती गर्न इच्छुक किसानले प्राविधिकको सहयोग लग्नु पर्छ ।’
सुदूरपश्चिमका ९ वटा जिल्ला मध्य कैलालीमा सबैभन्दा बढी चैते धान उत्पादन हुने गरेको छ । चैते धानमा रोगको समस्या कम हुने, डुबानको समस्याबाट पनि जोगिने र उत्पादन धेरै हुने भएकाले किसानको आकर्षण बढेको शर्मा बताउँछन् ।
भजनी नगरपालिका–३ की गुलरियाकी विनीता चौधरीले भनिन्, ‘त्यही भएर पनि वर्षे धानको सट्टा चैते धानतिर किसान लागेका छौँ ।’ डुबानको समस्याका कारण चैते धानतिर किसानलाई अग्रसर गराउन लागिएको कृषि ज्ञान केन्द्र प्रमुख शर्मा बताउँछन् । चैत धान खेतीतर्फ थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समेत लागु गरिएको प्रमुख शर्माले जानकारी दिए ।
सङ्घीय सरकारले मसिनो धान प्रवर्द्धन गर्दै
सङ्घीय सरकारले कैलालीमा मसिनो धानको खेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिने भएको छ । कैलालीमा सवा करोड बजेट मसिनो धान खेती प्रवर्द्धनका लागि विनियोजन भएको कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माले बताए । पछिल्लो समय भारतबाट मसिनो धान आयात धेरै हुन थालेपछि त्यसलाई रोक्न किसानलाई मसिनो धानप्रति आकर्षण गराइन लागिएको शर्माले बताए ।
यस वर्ष कैलालीमा चैते धान खेतीतर्फ मसिनो धान रोप्न १५ समूह तथा सहकारी संस्थाले कृषि ज्ञान केन्द्रमा फारम भरेका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माका अनुसार मसिनो धान कार्यक्रम भजनी नगरपालिका वडा नम्बर–३ र ८ बाहेकका अन्य क्षेत्रमा सञ्चालन गरिनेछ । भजनी ३ र ८ मा प्रदेश सरकारले चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेका कारण सो क्षेत्र बाहेकका क्षत्रमा सङ्घीय सरकारको योजना सञ्चालन गरिने ।
मसिनो धान खेती भजन नगरपालिकाका २, ५, ६ र ९ नम्बर वडा, कैलारी गाउँपालिकाको ४ नम्बर वडा, गोदावरी नगरपालिकाको १० नम्बर वडा सँगै जोशिपुर र जानकी गाउँपालिका, टिकापुर नगरपालिका तथा घोडाघोडी नगरपालिकाका केही वडामा सञ्चालन गरिनेछ ।
डुबान क्षेत्रमा बिमा कार्यक्रम सञ्चालनको तयारी
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका बढी डुबान हुने क्षेत्रका किसानको वाली बीमा गर्ने तयारी गरेको छ ।बर्सेनि बाढीका कारण कृषि बाली नष्ट हुन थालेपछि बाढी प्रभावित क्षेत्रका किसानको बाली बिमा सञ्चालनको तयारी भइरहेको कृषि ज्ञान केन्द्र धनगढीले जनाएको छ ।
बिमा गर्दा डुबानको अवस्थालाई मध्यनजर गरिने कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख थगेन्द्र शर्माले बताए । ‘बाढी प्रभावित क्षेत्रका किसानको बाली बिमा गर्ने बारेमा छलफल भइरहेको छ,’ कार्यालय प्रमुख शर्माले भने, ‘त्यसका लागि किसानको तथ्याङ्कसँगै कुन स्थानमा कति डुबान हुन्छ भन्ने बारेमा पनि अध्ययन हुनेछ ।’