काठमाडौं । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवको अवसर पारेर आज भव्यताका साथ सेना दिवस मनाउँदै छ ।
नेपाली सेना गठन भएको उपलक्ष्यमा हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरिएको छ। यसै क्रममा सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम गरी सेना दिवस मनाउन लागेको हो । सो अवसरमा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सवारीदेखि हेलिकोप्टरबाट पुष्पवृष्टि पनि गरिने छ ।
सोही उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्रि बढाइँसहितको विशेष कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरुको उपस्थिति रहनेछ ।
महाशिवरात्रि तथा सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवको अवसरमा सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पुर्याउने सबैमा शुभकामना व्यक्त गरेको छ । नेपाली सेनाले आज आफ्नो स्थापना दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।