
भैरहवा । कलाकारहरुहरुलाई राज्यले उपेक्षा गरेको भन्दै कला व्यवसायीहरु आफ्नाे हकहित, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध हुन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल कमर्शियल आर्टिस्ट संघको प्रथम रुपन्देही भेलामा बोल्दै आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौं परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आइ पेशा नै संकटमा पर्न लागेको बताए । कलाकारले कला अनुसारको मूल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको उनीहरुले आरोप लगाए ।
दर्ता भएर कर तिरे पनि राज्यको अंगहरुमा आफूहरुकाे पहिचान हुन नसक्नु दु:खद कुरा रहेको भन्दै उनीहरुले व्यवसायलाई मर्यादित बनाउँदै व्यवसायिक सामाजिक सुरक्षाको माग गरे । संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद राजवंशीले २०५१ सालदेखि संस्थागत भए पनि सरकारकै उपेक्षाका कारण आफूहरुकाे पहिचान र पेशा संकटमा पर्दै गएकोले संस्थालाई पुनः जीवित गरेर देशव्यापी रुपमा संगठन विस्तारको अभियान चलाइएको बताए ।
अहिले मेचीदेखि महाकालीसम्म अभियानमार्फत् जिल्ला कमिटी गठन गर्दै आएकाे र २८ जिल्लामा समिति गठन भएको उनले बताए । कला र क्षमता भए पनि राज्यबाट उपेक्षित भएकोले नयाँ पिँढीलाई यो पेशातर्फ आकर्षित गर्न, कलाकार श्रमजीवी हो भन्ने गर्वकाे वातावरण बनाउन र सबै कलाकारहरुलाई एकताबद्ध भई संगठित हुन यो अभियान चलाइएको उनकाे भनाइ छ।