
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३६ अङ्कले ओरालो लागेर चार सय दशमलव ६२ मा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने अन्य १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर रु दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ मूल्यमा खरिद बिक्री भयो ।
आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४७ अर्ब २६ करोड ६९ लाख ३९ हजार तीन सय ३४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड २० लाख ५४ हजार पाँच सय ८७ बराबरको कारोबार भयो ।
यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स रु १४ करोड ३७ लाख तीन हजार, गुराँस लाइफ इन्स्योरेन्स रु सात करोड ६७ लाख ७२ हजार तीन सय ८८, एनआइसी एशिया बैंक रु सात करोड १० लाख ८३ हजार चार सय तीन र सूर्योज्योति लाइफ इन्स्योरन्स रु छ करोड ७१ लाख ३५ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।
नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर सात दशमलव ३७, लुम्बिनी जनरल इन्स्योरेन्स छ दशमलव २०, इस्टर्न हाइड्रोपावर पाँच दशमलव ८६, पिपल्स पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले कमाएका छन् ।
यस्तै, प्राइम लाइफ इन्स्योरेन्स पाँच दशमलव २१, मनकामना स्मार्ट लघुवित्त चार दशमलव ९७, गणपति लघुवित्त चार दशमलव ४६, सगरमाथा इन्स्योरेन्स चार दशमलव ३० र नेरुडे लघुवित्तका लगानीकर्ताले चार दशमलव शून्य नौ प्रतिशतले गुमाएका छन् ।