काठमाडौ, महानगरपालिका-९ सिनामंलगस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्का समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साफे नगरपालिका-४ घर भएका ४० वर्षीय निरज शर्मा समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कानुनमा के छ ?
नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।
उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीसहजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबना ।