प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको क्यासिनोमा भएको आगलागीका क्रममा एक नेपालीको मृत्यु हुन पुगेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले एक समवेदना सन्देश जारी गर्दै घटनामा ज्यान गुमाएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।
आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो । थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा उनको दुःखद निधन भएको हो । क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उद्धार हुन नसकेपछि झ्यालबाट हामफालेका थिए । झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताएका छन् ।