राष्ट्रपति कार्यालयले भोलि सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएको छ। प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई नियुक्त गरेकी थिइन्। योसँगै दाहाल तेस्रोपटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री (२०६५ सालमा) बनेका प्रचण्डको यो तेस्रो पटक हो । यसअघि २०७३ सालमा पनि उनी प्रधानमन्त्री बनेका थिए ।
विभिन्न सात राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका थिए।
हस्ताक्षर गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी छन्, जसपाले भने उक्त पत्रमा हस्ताक्षर गरेको छैन ।
संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।