प्रतिनिधिसभाको समानुपातिकमा मतमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख मत कटाएको छ । पहिलो पटक निर्वाचनमा सहभागी भएको यस पार्टीले समानुपातिक मत पाउनेमा तालिकाको चौथो स्थानमा रहेको छ
बिहीबार बिहान ६:४५ बजेसम्म *एक करोड एक लाख ७५ हजार ८९५ मत गणना भइसक्दा नेकपा एमाले २७ लाख २२ हजार ८३३ मतसहित तालिकाको शीर्ष स्थानमा कायम छ ।
दोस्रोमा नेपाली कांग्रेस छ, यसले २५ लाख ८६ हजार ६८० मतसहित एमालेलाई पछ्याइरहेको छ ।
तालिकाको तेस्रो स्थानमा हँसिया हथौडा चुनाव चिह्न छ । यस चुनाव चिह्नबाट नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी चुनावमा सहभागी भएका थिए । अहिलेसम्मको मतगणनामा ११ लाख ५३ हजार ५१६ मतसहित तालिकाको तेस्रो स्थानमा रहेको निर्वाचन आयोगको विवरणले देखाउँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ४ हजार ७९० मतसहित हँसिया हथौडालाई पछ्याइरहेको छ । मतगणनाको कुनै समयमा घण्टी चुनाव चिह्न माओवादी केन्द्रलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको समेत थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ, जनता समाजवादी पार्टी, नेपाल, छैटौं, सिके राउत नेतृत्वको जनमत पार्टी सातौ स्थानमा कायम छन् ।
राप्रपाले पाँच लाख ७९ हजार ४०६ मत पाउँदा जसपाले चार लाख आठ हजार ९६४ र जनमत पार्टीले तीन लाख ७६ हजार २११ मत पाएको छ ।
नेकपा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले दुई लाख ९० हजार १९९ मत पाएको छ । अहिलेसम्मको गणना अनुसार यो पार्टीले कूल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेको छ ।
चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी
प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ ।
जसमध्ये सु्नसरी ४ मा मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
बाजुरा र स्याङ्जा २ मा बुधबार साँझदेखि मतगणना सुरु गर्न निर्देशन दिइसकेको छ । बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ । स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै दोलखामा भने आज पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
* सच्चाइएको ।