पाँचथर जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएका एमालेका वसन्तकुमार नेम्वाङले निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राती १०:०० बजे प्रकाशन गरेको अन्तिम परिणाम अनुसार एमालेका वसन्तकुमार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्वेलाई ४६ मत अन्तरले पराजित गरे । नेम्वाङले ३२ हजार १३५ मत प्राप्त गर्दा आङदेम्वेले ३२ हजार ८९ मत पाए । यसअघि मंसिर ९ गते बिहान प्रत्यक्ष तर्फको मत गणना सकिँदा नेम्वाङ र आङदेम्वेबीचको मत अन्तर ४७ थियो । नेम्वाङको विजयमा नेकपा एमाले र उक्त दलका समर्थकले विजय र्याली समेत निकालेका थिए । तर, समानुपानितक तर्फको मत गन्न थाल्दा पुनः प्रत्यक्षका मत पत्र भेटिन थालेपछि विवाद भएको थियो । त्यसपछि निर्वाचन कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गरिएको थिएन ।
समानुपातिकतर्फको गणना सक्दा एमालेको चुनाव चिन्हमा भोट दिइएका २५ र कांग्रेसलाइ दिइएका २६ वटा मतपत्र भेटिएपछि तिनलाई पनि जोडेर मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले अन्तिम परिणाम सार्वजनिक गरेका हुन् । दाहालले नेम्वाङलाई मध्यरातमै प्रमाणपत्र पनि वितरण गरेका छन् ।
पुर्व भौतिक पुर्वाधार तथा योजना मन्त्री रहेका नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । यसैगरी पाँचथर प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा नेकपा एकिकृत समाजवादीका कमलप्रसाद जवेगु र (ख) मा इन्द्रवहादुर आङवो (मौसम) विजयी भएका थिए ।