प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ८:५५ बजेसम्म एक करोड आठ हजार ३०२ मत गणना भइसकेको छ ।
अहिलेसम्मको मतगणना अनुसार नेकपा एमाले तालिकाको शीर्ष स्थानमा कायम छ । यो समाचार तयार पार्दासम्म एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने नेपाली कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित तालिकाको दोस्रो स्थानमा छ ।
पहिलो र दोस्रो हुने दलहरूको पाएको मतको फरक एक लाख ४३ हजार ४८१ छ अर्थात नेपाली कांग्रेसले पाएको मत भन्दा एमालेले पाएको मत एक लाख ४३ हजार भन्दा बढी छ ।
तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको एकल चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा रहेको छ । यस चुनाव चिह्नमा ११ लाख ४ हजार ८९४ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्न १० लाख ९८ हजार २७५ मतसहित तालिकाको चौथो स्थानमा छ । मतगणना भइरहदा विभिन्न चरणमा कहिले घण्टी तेस्रो त कहिले हँसिया हथौडा तेस्रो स्थानमा थिए । अहिले यी दुईबीच ४५ हजार ६१९ मतको फरक छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच लाख ७० हजार ६५४ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत तीन लाख ८९ हजार १९७ रहेको छ ।
तालिकाको सातौ स्थानमा रहेको सिके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने भएको छ । यस पार्टीले अहिलेसम्म तीन लाख ४९ हजार ३५२ मत पाइएको निर्वाचन आयोगको विवरणमा देखिन्छ ।
एकीकृत समाजवादी जनमत पार्टी भन्दा पछाडि रहेको छ । यस पार्टीले दुई लाख ८२ हजार २६२ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीले दुई लाख ५० हजार ५९ मत पाएको छ ।
एक करोड मतगणना भइसक्दा राष्ट्रिय दल बन्न कुनै समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ । मतगणना जारी छ भने तीनवटा निर्वाचन क्षेत्रमा पुन: मतदान/मतगणना हुनुपर्ने भएकाले कूल सदर मत एक करोड ५ लाख माथि पुग्ने आँकलन गर्न सकिन्छ ।
एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सङ्घर्षरत रहेका छन् ।