प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख ७० हजार ८८३ मतगणना भएको छ ।
आज बिहान ११.३० बजेसम्मको गणना अनुसार नेकपा(एमाले)ले २६ लाख सात हजार ४७२ मत प्राप्त गरेको छ । तालिकाको दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ मत प्राप्त गरेको छ ।
नेकपा(माओवादी केन्द्र)ले ११ लाख नौ हजार ७७९ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चुनाव चिह्नमा १० लाख ७९ हजार ९४ मत खसेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५४ हजार ७५७, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार ७७३ मत प्राप्त गर्दै राष्ट्रिय पार्टी बन्ने भएको छ ।
आयोगका अनुसार जनमत पार्टीले तीन लाख १६ हजार ६५३ मत पाएको जनमत पार्टी पनि राष्ट्रिय पार्टी बन्ने देखिएको छ भने दुई लाख ६८ हजार ४७९ मत पाएको नेकपा( एकीकृत समाजवादी) तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सङ्घर्षरत रहेको देखिएको छ ।
नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ५६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ६९८, नेपाल मजदूर किसान पार्टीले ७३ हजार २४३, हाम्रो नेपाली पार्टीले ५३ हजार ३६५ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार ९१० र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३५० मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।