एक लाख ८० हजार भन्दा बढी नगदसहित एक रोधीघरमा जुवा खेलिरहेको अवस्था सात जना व्यक्तिहरू पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सालैजो रोधी घरमा जुवातास खेलिरहेको अवस्थामा गोंगबु बस्ने ४९ वर्षीय सूर्य गुरूड समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त रोधी घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ४ सय रुपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो ।
के छ जुवातास सम्वन्धि कानुन
नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।
उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीसहजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबना ।