दोहोरो नागरिकता र राहदानी बनाएर अमेरिका जान लागेका एक व्यक्ति हिजो (शुक्रबार) काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित अमेरिकन राजदुतवास नजिकबाट दुई वटा नागरिकता र राहदानी सहित उदयपुर वेलका नगरपालिका-७ घर भएका ४१ वर्षीय अशोक राई भन्ने ओम बहादुर राईलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
राईले दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए । प्रहरीले उनको साथबाट दुई वटा नागरिकता र राहदानी समेत बरामद गरेको छ ।
उनलाई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।