बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पुर्याइदिएवापत दसैँ खर्च पाउँथिन् तर दुई वर्षयता उनलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके ।
घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएकी विक अहिले पेशा परिवर्तन गर्ने सोचमा छिन् । “मैले माटो बेचेर खर्च चलाउँदै आएको १७ वर्ष भयो, दुई वर्षदेखि माटो बिक्री हुनै छाड्यो, १५–२० बोरा बेच्यो भने पाँच सय आम्दानी हुन्छ, धेरै मान्छेले माटोले घर लिप्नै (पोत्न) छाडिसके, अब माटो बेचेर ज्यान पाल्न गाह्रो छ, अरु नै पेशा गर्नुपर्ने भयो,” उनले भनिन् ।
दसैँ–तिहारबाहेक अरु बेला पनि गाउँलेका घरमा माटो पुर्याउने गरेकोमा अहिले वर्षमा दुई सय बोरा पनि बेच्न गाह्रो परेको गुनासो गर्दै उनले आफूले दसैँका बेलामा मात्रै पाँच सयदेखि आठ सय बोरा बाटो गाउँलेका घरमा पुर्याउने गरेको र अहिले एक सय बोरा पनि बिक्री हुन छाडेको बताइन् ।
“मैले दसैँमा मात्रै माटो बेचेर रु १५ हाजर देखि २० हजारसम्म आम्दानी गर्थेँ, अहिले वर्षभरिमा पनि रु १५ हजार कमाई हुँदैन, गाउँभरि टिन (जस्तापाता) र सिमेन्टबाट घर बन्न थाले, मान्छेहरूले मेरो माटो के किन्थे”, विकले भनिन्, “पहिले–पहिले रातोमाटो र सेतो कमेरोले घर पोत्दा गाउँ नै निकै राम्रो देखिन्थे, अहिले बजारबाट आउने रंगले कमेरो र रातोमाटो प्रयोग हुनै छोड्यो ।”
गाउँमा परम्परागत ढुङ्गा, काठ र माटोले बनेका घर विस्थापित हुन थालेपछि माटोले घर पोत्ने प्रचलन हराउँदै गएको छ ।
बागलुङका १० वटै स्थानीय तह खरको छानो मुक्त पालिका अभियानमा जुटेका छन् । सो अभियानअनुसार गाउँमा भएका पुराना खरका छाना हटाएर जस्तापाताले छाउन थालेका छन् । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिकालगायत पालिकामा अहिले खरका घर पूर्णरूपमा विस्थापित भएका छन् ।