खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु सङ्क्रमणका कारण निधन भएको छ । डेंगुको सङ्क्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना भएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत सङ्क्रमण देखिएको थियो । लाइभ भिडिओमार्फत निको हुन प्रार्थना गरिदिन आग्रह गरेको केही घण्टापछि सुष्मिताको निधन भएको हो । उनको निधनपछि नौ महिनाको सन्तानको बिचल्ली भएको छ ।
जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् । छोटो समयमै दर्शक स्राेताको मन जित्न सफल गायिका राईले राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन् ।
सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिइन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसइई उत्तीर्णपछि काठमाडौं पुगेकी थिइन् ।