नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ ।
बधशालाको खाली भुँइमा बुढा भैँसी काटेर मासु छरपष्ट छरिएका छ । सँगै गोठमा बध गर्ने तयारीका लागि बाँधिएका आठ भैँसी छन् । त्यहीँ गोठबाट बगेर आएको मलमूत्र बिक्रीका लागि काटिँदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको छ । मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिँगा भन्किरहेका छन् ।
खुद्रा पसलमा बिक्रीका लागि मासु लैजान भेला भएका मासु पसल सञ्चालक त्यहीँ फोहर भैँसीको मासु बिक्री गर्न लैजाने तयारी गरिरहेका छन् । अत्यन्तै घिनलाग्दो दृश्य हो, यहाँको बधशालाको । बस्तीमा तीन बधशाला सबैको अवस्था उस्तै नै छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए । वर्षौदेखि कानुन उल्लङ्घन गरेर आम उपभोक्ता ठग्दै उनीहरुको स्वास्थ्यमाथि चरम खेलबाड थियो । अनुगमनमा निस्केको टोली मध्येका अधिकांशले भन्दै थिए, “छि, भैँसीको मासु, त्यो पनि यस्तो फोहर र लापरबाही, हजारौँ उपभोक्ता ठगी गर्दै मानवीय स्वास्थ्यमाथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ ।”
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैँसी काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैँसी बाधेर मलमूत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकूल पार्ने गरी लादी फालिएको लगायतका कसुर देखिएपछि टोलीले रु २० हजार जरिवाना लगाएको छ ।
नजिकै रहेको जय श्री बालकुमारी बफेलो सप्लायर्स र भगवाणकृष्ण खड्गीले सञ्चालन गरेको सिद्धिकाली मिट सप्लायर्सको अवस्था पनि उस्तै थियो । दुवै बधशाला २५ वर्ष अगाडिदेखि नै दर्ता विना नै सञ्चालनमा रहेको कामदारले बताउनुभयो । ती दुवै बधशालामा पनि भुँइमै राँगो काटेर नजिकै लादी राखिएको, रगत, मासु फोहर भुँइमै राखेर काटिएर बजार पठाएको, बधशाखा अत्यन्तै फोहर रहेको, हड्डीको व्यवस्थापन नगरिएको पाइएको थियो ।
अनुगमन टोलीले बालकुमारी बफेलो सप्लायर्स र सिद्धिकाली मिट सप्लायर्सलाई पहिलो पटकलाई चेतावनी दिँदै रु १० हजारका दरले जरिवाना लगाएको छ । बधशाला दर्ता गर्न र मापदण्डभित्र रहेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।
सिद्धिकाली मिट सप्लायर्सका सञ्चालकले भने मध्यपुरथिमि नगरपालिकाले बधशाला दर्ता गर्न जाँदा दर्ता नगरी पठाएको र नगरपालिकाले यसअघि कुनै अनुगमन नगरेको, बधशाला कसरी सञ्चालन गर्ने भनेर जानकारी नगराएको गुनासो गरेका थिए ।
अनुगमन टोलीले बाहाखा, बोडे, नगरदेशलगायत मासु पसल अनुगमन गर्दा सबै पसल अत्यन्तै फोहर र मापदण्डभित्र नरहेको पाइएपछि जरिवाना लगाइएको हो । अनुगमनमा लक्ष्मी खड्गी, विनोद खड्गी, रमेश खड्गी भनिने वुद्धिबहादुर खड्गी, सुनिल खड्गीको पसल र अरनिको फ्रेस हाउस गरी पाँचवटै पसललाई रु पाँच हजारका दरले जरिवाना लगाएको छ भने दिलकाजी मासु पसललाई रु दुई हजार जरिवाना लगाएको छ । सबैलाई चार दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको र रामेछाप फ्रेस मिटलाई अझै सफा गर्न सचेत गराइएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।
टोलीले तीन बधशाला र सात मासु पसलको अनुगमन गरी कूल रु ६७ हजार जरिवाना लगाएको जानकारी दिँदै सहायक प्रजिअ एवं टोलीका संयोजक शर्माले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ खण्ड (क) र (ग) अनुसार जरिवाना गरी दर्ता नभएका पसललाई सम्बन्धित निकायमा दर्ता गर्न, नियमित रुपमा नवीकरण गर्न, हरेक वर्ष कर चुक्ता गर्न, सरसफाइ गर्न, मूल्य सूचि टाँस्न र मापदण्डभित्र रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको बताए ।