राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ ।
चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालको प्रबक्ता सुरक्षा हमालले केटिएम दैनिकलाई बताइन् ।
‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनले भनिन्, ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’
चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१-५९७००९९ मा कल गर्न पनि सकिन्छ ।
सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड सेयरिङ मार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्टमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो त्यस्तै सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै काठमाडौमा ‘पठाओ फुड’ समेत सुरू गरेको छ ।