काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र शनिबार (आज)देखि धुम्रपान तथा सुर्तिजन्य सेवनमा प्रतिबन्ध लगाइएको छ ।
महानगरपालिकाले गत भदौं ३० गते सूचना जारी गरेर असोज १ गतेदेखि लागुहुने गरि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको हो ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।
सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ । कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने महानगरले जनाएको छ ।
कस्ता स्थानलाई सार्वजनिक स्थल मानिन्छ ?
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा कस्ता स्थानलाई सार्वजनिक स्थल भनिने भन्ने पनि स्पष्ट किटान गरिएको छ । ऐनअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ ।
यस्तै सार्वजनिक स्थल भित्र चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यापाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिमार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टरलाई पनि समेटिएको छ ।
माथि उल्लेख गरिएका बाहेक अतिरिक्त कुनै ठाउँको महत्व र संवेदनशीलतालाई विचार गरी सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका अन्य स्थल पनि सार्वजनिक स्थल मानिने छन् ।