आज गणेश चतुर्थी अर्थात हात्तिको टाउको भएका गणेशको जन्मदिन हर्ष उल्लासका मनाइदैँ छ ।
हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिने गरेको पाइन्छ ।
काठमाडौं लगायत देशका प्रमुख गणेश मन्दिरहरुमा आज भगवान् शिव–पार्वतीको पुत्र गणेशको जन्मोत्सव पुजा आराधना गर्दै मनाईन्छ ।
यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।
महिनौ देखिको तिजको रौनक हिजो सकिएको छ । हिजो तृतिया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात मंगलमुर्तिको जन्मदिन हो । कसैकसैले आजको दिनलाई विनायक चतुर्थि पनि भन्दछन् ।
वास्तवमा गणेश चतुर्थि नेपाल लगायत भारत, मरीसस, फिजी लगायतका दक्षिण पूर्वी एशियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थिमा शुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ ।
यसरी मनाउने क्रममा भगवान गणेशको प्रतिमा स्थापित गरी रंगीन पण्डालहरु लगाएर ४ चरणमा पुजा गरिन्छ । भगवानको प्रतिमा स्थापित गर्ने, सोह्र तरिकाले भगवान गणेशको अनुष्ठान गर्ने, प्रतिमालाई एकठाउँबाट अर्को ठाँउ लैजान तैयार गर्ने अनि प्रतिमालाई नदी अथवा सफा जलासयमा बिसर्जन गर्ने क्रमहरु हुन्छन् ।
यसरी शुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारीक रुपमा खोलामा बिसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।
१०८ वटा विभिन्न नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ र उनको जन्मकाबारेमा दुइखाले धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतबाट गणेश उत्पन्न भएका हुन ।
एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रुपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन र सोही समय पार्वतीलाई भेटन भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए ।
स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसंग अनेक विलौना गरेपछि महादेव उत्तरतर्फ गई हात्तिको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेको छ ।
अर्को किवंदन्तीका अनुसार देवताहरुको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन्, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्नहर्ताका रुपमा सिर्जना गरिएको हो ।
यस दिन देखिने चन्द्रमामा दोष हुन्छ तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहेको छ ।
यस याममा हुने फलहरु जस्तै भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका मौसमी फलहरु आजको रात चोरिन्छ ।