कलाकारको आवरणमा विदेशमा मानव तस्करी प्रकरणमा आफ्नो नाम मुछिएपछि अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र निर्देशक दीपक आचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् ।
आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै त्यसमा संलग्न दोषीलाई कानुनी कारवाहीको माग गर्दै उनीहरु कार्यालयमा आएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो ।
पर्यटन बोर्डको पत्र नम्बर ३०९ – २०७८-७९ मा जुलाई २० मा दूतावासमा भिसाको लागि आवेदन पेस गरिएको थियो। फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ। जसमा नायिका केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम रहेको थियो।
फिल्मका निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुली नाम थियो। पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको थियो। यसरी आफ्नो कार्यालयको लेटरप्याड र नक्कली हस्ताक्षर प्रयोग भएकाले पर्यटन बोर्डले नेपाल प्रहरीमा उजुरी दिएको थियो।
आर्यनसहितका कलाकारको राहदानी लगेर दिल्ली पुगेका पराजुली अहिले सम्पर्कबिहीन छन् ।