सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।
कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले अनुपस्थित छन् ।
आसन्न मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलहरुले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन् ।
सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउन महिनाभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि कार्यदलले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेन । त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि त्यो समय पनि गुज्रिसकेकाले नेताहरु दबाबमा छन् ।
गठबन्धनले २० साउनमै सिट बाँडफाँटका लागि पाँच दलका ११ नेता सम्मिलित कार्यदल गठन गरेको थियो । तर कार्यदलले मात्रै त्यसबारे सहमति जुटाउन नसकेपछि हाल कार्यदलसहित शीर्ष नेताहरू पनि निरन्तर छलफलमा छन् ।
यसअघि सोमबार र मंगलबार निरन्तर गठबन्धनको बैठक बसेको थियो । बुधबार साँझ ५ बजे पुनः बैठक बस्ने भनिएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौंबाहिर भएपछि बैठक स्थगित भएको थियो ।
भिडिओ