काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका सवारीसाधनहरूलाई बञ्चरेडाडाँका स्थानीयहरूले गुलेली हानेका छन् ।
सोमबार बेलुका फोहोर बोकेर गएका गाडीहरूलाई अगाडि बढ्न नदिनको लागि स्थानीय युवाहरूले गुलेली प्रहार गरेको स्थानीय समिप अधिकारीले बताए ।
हिजो तीन राजनीतिक दलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आजबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न जाने गाडी रोक्ने घोषणा गरेका थिए। आइतबार सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेसका धुनिवेशी नगरपालिकाका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका थिए।
तीन दलले घोषणा गरेको भोलिपल्ट स्थानीयले गुलेली प्रहार गरेका हुन् । १७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सीमाना सिसडोल र पछिल्लो समय बन्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।