
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनबाट ३५ हजार २२१ जना जनप्रतिनिधिहरू निर्वाचित हुनुपर्नेमा ३५ हजार ९७ जना जनप्रतिनिधिहरू निर्वाचित भए ।
दलित महिला सदस्य पदमा १२३ वडामा मनोनयन नै परेन भने एक वडामा महिला सदस्यमा पदमा मनोनयन नपर्दा निर्वाचित हुने जनप्रतिनिधिहरूको सङ्ख्या १२४ ले कम भएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार निर्वाचनमा सहभागी भएका दलहरूमध्येमा स्वतन्त्रसहित २५ दलका उम्मेदवार निर्वाचित भएर जनप्रतिनिधि बनेका छन् ।लैङ्गिक हिसाबमा हेर्ने हो भने २० हजार ६३१ जना पुरुष र १४ हजार ४६६ जना महिलाहरू निर्वाचित भएका हुन् ।
स्वतः महिला निर्वाचित हुने पदबाहेक अन्य पदहरूमा महिलाको उपस्थिति न्यून देखिएको छ । १२ जना गाउँपालिका अध्यक्ष सहित २५ महिला प्रमुख पदमा निर्वाचित हुँदा, ६९ वडाको नेतृत्वमा महिला पुगेका छन् । ४४२ जना महिलाहरू खुल्ला सदस्यमा निर्वाचित भएका छन् । यस्तै २३३ जना महिलाहरू उपप्रमुख र ३३५ जना उपाध्यक्ष भएका छन् ।
स्वतः महिला निर्वाचित हुने दलित महिला सदस्य पदमा १२३ र महिला सदस्यमा एक वडामा मनोनयन नपरेपछि कानुनले संरक्षित गरेको पदमा पनि १२४ पद रिक्त हुन पुगे ।

विभिन्न दलबाट निर्वाचित भएका जनप्रतिनिधिहरू मध्ये नेपाली कांग्रेसबाट ३९.२४ प्रतिशत निर्वाचित हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ३३.९९, नेकपा (माओवादी केन्द्र) १४.३७, जनता समाजवादी पार्टी, नेपाल ४.४१, नेकपा (एकीकृत समाजवादी) २.८१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १.६६, स्वतन्त्र १.१० र बाँकी अन्य १८ दलहरूबाट कूल २.४१ प्रतिशत जनप्रतिनिधिहरू निर्वाचित भएका हुन् ।
सङ्ख्यात्मक रूपमा हेर्दै नेपाली कांग्रेसबाट ३२९ पालिका प्रमुख (१८८ अध्यक्ष र १४१ मेयर), ३०० उपप्रमुख (११० उपप्रमुख र १९० उपाध्यक्ष), २ हजार ६६८ वडा अध्यक्ष, २ हजार ६०९ महिला सदस्य, २ हजार ५५४ दलित महिला सदस्य र ५ हजार ३१३ खुला सदस्य सहित १३ हजार ७७३ जना जनप्रतिनिधिहरू निर्वाचित भएका हुन् ।
पालिका प्रमुखमा निर्वाचित भएकामध्ये ९ जना महिला हुन् । तीमध्ये ४ जना नगरप्रमुख र ५ जना गाउँपालिका अध्यक्ष हुन् । त्यस्तै गरी उपप्रमुखमा निर्वाचित भएकामध्ये ७३ जना पुरुष हुन् ।

दोस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट १२३ गाउँपालिका अध्यक्ष र ८३ नगरप्रमुख गरी प्रमुख पदमा २०६ जना निर्वाचित भए ।
त्यस्तै गरी ११५ नगरपालिकाको उपप्रमुख र १२६ गाउँपालिकाको उपाध्यक्ष गरी २४१ पालिकाको उप पदमा पनि सोही दलका उम्मेदवार निर्वाचित भए । २ हजार १३७ वडाध्यक्ष उक्त दलबाट निर्वाचित हुँदा महिला सदस्यमा २ हजार ३५२, दलित महिला सदस्यमा २ हजार २९५ र खुला सदस्यमा ४ हजार ६९८ जना गरी कूल ११ हजार ९२९ जना निर्वाचित भए । एमालेबाट पालिका प्रमुखमा १० जना महिला निर्वाचित हुँदा उपप्रमुखमा निर्वाचित हुने पुरुषको सङ्ख्या २४ छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रबाट ४ महिलासहित १२१ जना प्रमुख पदमा निर्वाचित भए । २५ वटा नगरको प्रमुख पद माओवादी केन्द्रले जित्दा भरतपुर महानगरको प्रमुखमा दोहोरिएकी रेणु दाहालबाहेक अन्य सबै पुरुष हुन् । त्यस्तै गाउँपालिकामा निर्वाचित भएका ९६ जनामध्ये तीन जना मात्र महिला हुन् ।
सो दलबाट ६५ पुरुषसहित १२८ जना उपप्रमुखमा निर्वाचित हुँदा १ हजार ५३ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै गरी महिला सदस्यमा ९६३ र दलित महिला सदस्यमा ९७३ निर्वाचित हुँदा खुला सदस्यमा एक हजार ८०७ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । यस पार्टीबाट ५ हजार ४५ जनप्रतिनिधि निर्वाचित भएका हुन् ।
चौथो स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट ३० पालिका प्रमुख र ३१ उपप्रमुख, २९५ वडाध्यक्ष, एक हजार १९३ वडा सदस्यसहित एक हजार ५४९ जना निर्वाचित भएका छन् । यस पार्टीबाट प्रमुख पदमा एक जना पनि महिला निर्वाचित भएनन् । उपप्रमुखमा निर्वाचित भएका ३१ जनामध्ये ४ जना मात्र पुरुष हुन् ।
कूल जनप्रतिनिधिहरू निर्वाचित सङ्ख्याको आधारमा पाँचौँ नम्बरमा रहेको नेकपा एकीकृत समाजवादीबाट २० पालिका प्रमुख २३ उपप्रमुख १९० वडा अध्यक्ष, ७५४ वडा सदस्यसहित ९८७ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् । यस पार्टीबाट निर्वाचित भएका पालिका प्रमुखमध्ये हेटौँडा उपमहानगरको प्रमुख पदमा निर्वाचित मीना कुमारी लामा एक मात्र महिला हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट १६ प्रमुख १२ उपप्रमुख १०३ वडाध्यक्ष, ४५० वडा सदस्यसहित ५८१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
स्वतन्त्रलाई छाड्ने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी सातौँ नम्बरमा रहेको छ । यस पार्टीबाट निर्वाचित हुने उम्मेदवारको सङ्ख्या भन्दा स्वतन्त्र रुपमा निर्वाचित भएका जनप्रतिनिधिहरूको सङ्ख्या बढी छ । राप्रपाबाट ३०५ जना निर्वाचित भएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका ३८६ जना निर्वाचित भएका छन् । प्रमुख पदमा पनि स्वतन्त्रबाटै उम्मेदवारी दिएकाहरूले राप्रपाभन्दा बढी सिट जित्न सफल भएका छन् ।
राप्रपाबाट ४/४ पालिका प्रमुख ६२ वडा अध्यक्ष र २३५ वडा सदस्यसहित ३०५ जना निर्वाचित भएका हुन् । पालिका प्रमुख र वडाध्यक्षमा राप्रपाबाट निर्वाचित हुने सबै पुरुष हुन् भने उपप्रमुखमा निर्वाचित चारै जना महिला हुन् । राप्रपाले एक प्रतिशत भन्दा कम(शून्य दशमलव ८७ प्रतिशत) जनप्रतिनतिहरू निर्वाचित गराउन सफल भएको हो । २०७४ सालको स्थानीय तह चुनावमा राप्रपाले पाँच पालिका प्रमुख, सात उपप्रमुख, ५९ वडाध्यक्ष र २१४ वडा सदस्यसहित कूल २८५ जना जनप्रतिनिधिहरू निर्वाचित गरेको थियो ।

त्यस्तै सत्ता गठबन्धनभित्रै रहेको अर्को दल राष्ट्रिय जनमोर्चाले चार पालिका प्रमुख, तीन उपप्रमुख, २६ वडाध्यक्ष, १२६ वडा सदस्यसहित १५९ जना जनप्रतिनिधिहरू निर्वाचित गराउँदै आठौँ पार्टी बन्न पुगेको छ । सत्ता गठबन्धनमा भएता पनि यस पार्टीबाट मन्त्री भने छैनन्। गठबन्धनमा सामेल भए पनि यस पार्टीले अघिल्लो निर्वाचनमा भन्दा कम जनप्रतिनिधिहरू निर्वाचित गराउन सफल भयो । २०७४ सालको निर्वाचनमा यस पार्टीबाट तीन पालिका प्रमुख, चार उपप्रमुख ३३ वडाध्यक्ष र १४६ वडा सदस्य गरी कूल १८६ जनप्रतिनिधिहरू निर्वाचित गराएकोमा अहिले सो सङ्ख्या घटेर १५९ मा झरेको छ ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पालिका प्रमुखमा राप्रपा समान सिट जितेको छ । तीन उपप्रमुख १४ वडाध्यक्ष, ७८ वडा सदस्यसहित ९९ जना जनप्रतिनिधिहरू यस पार्टीबाट निर्वाचित भएका छन् ।
सिके राउतको जनमत पार्टी (जपा) बाट दुई पालिका प्रमुख, एक उपप्रमुख, १९ वडाध्यक्ष र ७४ वडा सदस्यसहित ९६ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ।
सामाजिक सञ्जालमा धेरै चर्चामा रहेको विवेकशील साझा पार्टीबाट भने एक/एक जना प्रमुख र उपप्रमुख, दुई वडाध्यक्ष र सात वडा सदस्यसहित ११ जना निर्वाचित भएका छन् ।
नेपाल सद्भावना पार्टीका उम्मेदवारले एउटा वडाको सदस्य पद मात्र जित्न सफल हुँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाली कांग्रेस (बी.पी.) ले २/२ वटा वडा अध्यक्षसहित सिङ्गल डिजिट (९ वा सो भन्दा कम ) मा उम्मेदवारहरू जिताउन सफल भएका छन् ।
त्यस्तै गरी नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, बहुजन शक्ति पार्टी, बहुजन एक पार्टी, नेपाल र रमेश खरेलको नेपाल सुशासन पार्टीले १/१ वटा वडा अध्यक्षसहित सिङ्गल डिजिटमा जनप्रतिनिधिहरू जिताउन सफल भए।
सिङ्गल डिजिटमा महिला सदस्य मात्र जिताउन सफल भएको एक मात्र पार्टी हो नेकपा माओवादी समाजवादी, यस पार्टीबाट एक/एक जना महिला सदस्य र दलित महिला सदस्य निर्वाचित भएका छन् ।
