आज साउन महिनाको दोस्रो सोमबार, केदारनाथको शिर भनिने भक्तपुरमा डोलेश्वर मन्दिरमा आज जल चढाउने र पूजा गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ।
डोलेश्वर महादेव विशाल कालो पत्थरको शिव लिङ्ग साढेंको टाउको (शिर) झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ र चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ। सुन्दर शिव लिङ्गको बायाँतर्फ त्रिशूल, डमरु र पित्तलको बन्चरो गाडिएको छ।
पहेँलो वस्त्र धारण गरेका बोल बम तीर्थयात्रीहरू खालि खुट्टा पैदल गर्दै जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
सोमबारको दिन राखिने व्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्त्व हुन्छ । यस दिन चन्द्रमाको पूजा पनि गरिन्छ ।
विशेष गरी महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् ।साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् ।
बिहान पानी परेता पनि झरीको वास्ता नगरी जल चढाउने र पूजा गर्नेहरूको घुइँचो देखिन्थ्यो ।
हेरौँ तस्बिरहरू