प्रदेश १ को नामाकरणको तयारी सुरु भएको छ । आउँदो आइतबार बस्ने प्रदेशसभाको बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेशको नामाकरणका लागि किराँत प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायतका नाम प्रस्ताव गरिएको छ ।
प्रदेश–१ मा नेकपा एकीकृत समाजवादी नेतृत्वमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संघीय लिम्बुवान मञ्चको संयुक्त सरकार छ । प्रदेश सभामा उक्त गठबन्धनको सामान्य बहुमत मात्रै छ ।
९२ जना सांसद रहेको प्रदेश–१ मा एमालेका ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एक जना सांसद छन् ।
एमालेबिना सभामा दुई तिहाइ बहुमत पुग्दैन । नामाकरणका विषयमा गठबन्धनभित्र काँग्रेस बाहेकका दलमा पहिचानसहितको नाम राख्नेमा एक मत देखिन्छ । किराँत, लिम्बुवानजस्ता नाममा गठबन्धनभित्र काँग्रेस बाहेकका दलहरु एकमत छन् । तर, एमाले पनि ती नाममा सहमत छैन ।
काठमाडौंमा प्रदर्शन
प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतघर मण्डलामा र्याली निकालिएको छ। प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।
गत फाल्गुनमा ओलीले दिएका थिए सुझाव
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २१ फागुनमा गृहजिल्ला झापा पुगेर भनेका थिए, ‘प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा हुन्छ ।
चार वर्षसम्म प्रदेशको नामाकरण गर्न नसकिरहेको अवस्थामा ओलीले प्रदेशको नाम ‘कोशी’ जुराईदिए । जुन यसअघि नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रस्ताव गरेका थिए । नामाकरण गर्नका लागि प्रदेशसभामा नेकपा एमालेको भूमिका महत्वपूर्ण छ । ओलीले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्नुपर्छ भन्ने पहिलो पटक बोलेका हुन् ।
तीन वर्षसम्म मुख्यमन्त्री बनेका एमाले नेता शेरधन राई नामाकरणको विषयमा असफल देखिए । त्यसपछि छोटो समयका लागि आएका अर्का नेता भीम आचार्यले त झनै यसमा चाँसो नै दिएनन् । नामाकरणको विषयमा चाँसो व्यक्त गर्न नपाउँदै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिए ।
अहिले एकीकृत समाजवादीको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईले पनि अन्तिम समयमा आएर प्रदेशको नाम राख्ने तयारी गरेका हुन् । अन्य ६ वटा प्रदेशले आफ्नो नामाकरण गरिसकेका छन् । तर, प्रदेश १ भने नामाकरण गर्न विभिन्न अल्झनमा परेको छ ।
नेतै नेता भएको प्रदेश नामबिहिन
प्रदेश १ सबैभन्दा बढी राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेता भएको प्रदेश हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरू प्रदेश १ कै हुन् ।
तर, उनीहरूले प्रदेशको नामाकरण गर्ने विषयमा भने मौनता देखाइरहेका छन् । चार वर्षसम्म चुप लागेका एमाले अध्यक्ष ओलीले गत फाल्गुनमा भने कोशी प्रदेश नामाकरण गर्नेपर्ने भन्दै मुख खोले । अन्य नेताहरूले भने नामाकरणको विषय न सुझाव दिएका छन्, न त पहल नै गरेको देखिन्छ ।