साउनको पहिलो सोमबार आज देशका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
साउनको सोमबारभगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।
हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ हो ।यस महिनामा शिवलाई प्रशन्न गराउन भक्तजनहरू उपासनामा तल्लिन हुन्छन् ।
शिवालयमा पुगेर बेलपत्र, धतुरो, दूध, मौसमी फूलहरू, पञ्चामृत लगायतका द्रव्यले शिवको पूजा गर्ने प्रचलन छ । शिवभक्तहरू यस समयमा घरघरमा रुद्री लगाउने गर्छन् र सकेसम्म विभिन्न शिवालयमा दर्शनार्थ जाने गर्छन् ।
यस्तै नारीहरूले साउन महिनामा हरिया पहिरन, रङ्गीचङ्गी शृङ्गार, हातमा मेहेन्दी, गलामा पोते, सिउँदोमा रातो सिन्दुरमा सजिएर शिवको व्रत बसी पतिव्रता धर्म उच्च रहोस्, प्रेम अखण्डित रहोस्, पारिवारिक सुख शान्ति कायम रहोस् भनी शिवको सकाम उपासना गर्छन् ।
पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन शुरु भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। विशेष गरी साउन महिनामा भगवान् शिवको दर्शन गर्नका लागि देश तथा विदेशबाट समेत लाखौँको सङ्ख्यामा दर्शनार्थीहरु पशुपति आउने गर्दछन् ।
विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो। दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यसवर्ष भने उत्साहपूर्वक आएका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
त्यस्तै गरी गोकर्णेश्वर नगरपालिकामा रहेको गोकर्णेश्वर मन्दिरमा पनि बिहानैदेखि भिड लागेको छ ।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ। पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत शुरु गर्छन्। साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
थप तस्विरहरू