आज श्रावणको पहिलो दिन, काठमाडौंको न्यूरोड लगायतका व्यापारिक क्षेत्रहरूमा हरियो चुरा,पोते र हातमा मेहेन्दी लगाउने महिलाहरू (युवतीसमेत) को भिड लागेको छ ।
भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने श्रावण महिनाभर हातमा मेहेन्दी लगाउनुका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन् ।
धर्ममा आस्था राख्नेहरू भगवान शिवको आराधना गरी श्रावणको सोमबार ब्रत बस्ने गर्दछन् । यस्ता ब्रतालु महिलाहरू रातो हरियो लुगामा सिँगारिएर शिव मन्दिर गई पूजा–आराधना गर्छन् र दिनभरि उपवास बस्दछन् ।
श्रावण महिनाको पहिलो साता काठमाडौँ न्यूरोडको विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा महिलाहरूको भिड लाग्ने गर्दछ । सडक छेउछाउ मेहेन्दी लगाइदिनेहरू भेटिन्छन् । त्यस्तै, अन्यत्र बजारमा हरियो र पहेँलो चुरा पोते किन्नेको भिड बढ्न थालेको छ ।
तस्बिरहरू: