रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ।
मंगलबार बा३ख ८३९६ को बस दुर्घटनामा नौ जनाको घटनास्थलमै र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् । सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ ।
घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर रहेका छन्।
यस्तै ज्यान गुमाउनेमा ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेको प्रहरीले जनाएको छ।
उपचारको क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन्।
घाइतेको नामावली
दुर्घटनामा रामेछापको सुनापती गाउँपालिका–५ बस्ने वर्ष ४५ का लालसिङ तामाङको टाउकोमा गम्भीर चोट लागि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै वर्ष ५८ का मानबहादुर तामाङको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ भने सोही ठाउँ बस्ने वर्ष ३४ का आशिष तामाङको मुख र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
सोही ठाउँ बस्ने वर्ष ४५ का जुना मगर, वर्ष ४५ का रामबहादुर श्रेष्ठ, वर्ष ३५ की शोभा श्रेष्ठ, वर्ष ५८ का गोमा खड्का, वर्ष २४ का बुद्ध तामाङ, वर्ष ६२ की अमिका खड्का, वर्ष ४५ की कान्छीमाया तामाङ, वर्ष २४ का गङ्गा घले, वर्ष ५६ का बुद्धिलाल श्रेष्ठ, वर्ष ७ का बुद्ध विक, वर्ष ५५ का चन्द्र श्रेष्ठ, वर्ष ८० का ठूलोसिंह तामाङ, वर्ष १६ की सरस्वती खाती, वर्ष ४० की डम्बरकुमारी खाती, वर्ष ४९ की कान्छीमाया तामाङ र वर्ष २३ की सविना घिसिङ पनि घाइते भएका छन् ।
यस्तै सर्लाही जिल्ला लालबन्दी ४ बस्ने वर्ष ३८ को अमर चौधरीको भने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बनेपास्थित शिर मेमिरियल अस्पतालमा उपचारपछि सुनापती–५ बस्ने वर्ष १९ का सहचालक विष्णुराम खड्काको भने दाहिने हात र खुट्टामा चोट लागेकोमा उपचारपश्चात् घर फर्किएका छन् ।