काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट १२१ पालिका प्रमुख निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट विजयी भएका धेरै उम्मेदवारहरू गाउँपालिका अध्यक्ष छन् भने पालिका प्रमुखमा निर्वाचित हुनेको सङ्ख्या तुलनात्मक रूपमा कम छ ।
निर्वाचन आयोगका अनुसार यस पार्टीबाट ९६ जना गाउँपालिका अध्यक्ष र २५ जना नगरपालिका प्रमुखमा निर्वाचित भए ।
लैङ्गिक समानता अनुसार हेर्ने हो भने नगर प्रमुखमा उक्त पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहाल मात्र निर्वाचित भइन । २५ पालिका प्रमुख यस पार्टीबाट निर्वाचित हुँदा महिला निर्वाचित हुने दाहाल मात्र हुन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट विजयी भएका ९६ जनामध्ये महिलाको सङ्ख्या जम्मा तीन छ ।
खोटाङ्गको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा अरुणा देवी राई, सिन्धुलीको सुनकोशी गाउँपालिका अध्यक्षमा दिपा वोहरा-दाहाल र काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका अध्यक्षमा रेणुका चौलागाईँ बाहेक अन्य सबै गाउँपालिका अध्यक्ष पुरुष हुन् ।
प्रदेश १ मा रहेका १३७ पालिकामध्ये माओवादी केन्द्रले जम्मा १२ वटा पालिका प्रमुखमा जित निकालेको छ । माओवादीबाट विजयी भएका उम्मेदवारहरू सबै गाउँपालिका अध्यक्ष हुन् । १ महानगर, २ उपमहानगर र ४६ वटा नगरपालिका रहेको उक्त प्रदेशमा माओवादी केन्द्रबाट कोही पनि विजयी हुन् सकेनन् ।
मधेस प्रदेशमा भने माओवादी केन्द्रले १ उपमहानगर, २ गाउँपालिका अध्यक्षसहित ९ वटा पालिका प्रमुखमा जित निकालेको छ । यस प्रदेशमा सो पार्टीले दुई गाउँपालिका अध्यक्षबाहेक बाँकी सबै नगरपालिका प्रमुखमा जित निकालेको हो ।
बागमती प्रदेशमा माओवादी केन्द्रले २७ वटा पालिका प्रमुखमा विजयी हासिल गरेको छ । ३ महानगर, १ उपमहानगर, ४१ नगरपालिका र ७४ गाउँपालिका भएको यस प्रदेशमा माओवादी केन्द्रले अन्य प्रदेशको तुलनामा केही बढी सिटमा विजयी भएको छ । रेणु दाहाल भरतपुर महानगरको प्रमुखमा दोस्रो पटक निर्वाचित भइन भने अन्य पाँच नगरमा पनि माओवादीका उम्मेदवारहरू प्रमुख पदमा निर्वाचित भए ।
गण्डकी प्रदेशमा सो पार्टीले ११ पालिका प्रमुखमा जित निकालेको छ । १ महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका सहित जम्मा ८५ पालिका रहेको यस प्रदेशमा माओवादी केन्द्रले २ नगरपालिका सहित ११ स्थानमा जित निकालेको हो ।
लुम्बिनी प्रदेशमा सो पार्टीबाट २५ पालिका प्रमुख निर्वाचित भए । माओवादीको उद्गम स्थल भएको रुकुम (पूर्व रुकुम) र रोल्पासमेत यही प्रदेशमा पर्ने हुनाले सो प्रदेशबाट माओवादी केन्द्रले अलिक बढी पालिका जित्ने विश्वास लिइएको भएता पनि गठबन्धनसहित चुनावमा होमिएको यस पार्टीले ठिकै नतिजा ल्याएको हो ।
अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि माओवादीले धेरै गाउँपालिका अध्यक्ष नै जितेको छ । यस प्रदेशमा उक्त पार्टीबाट निर्वाचित भएका २५ प्रमुखमध्ये तीन जना नगरपालिका प्रमुख हुन भने बाँकी २२ जना गाउँपालिका अध्यक्ष हुन् ।
कर्णाली प्रदेशमा भने माओवादी केन्द्रले ५ नगरपालिका प्रमुख सहित २३ पालिका प्रमुख जितेको छ । कर्णाली प्रदेशमा महानगर र उपमहानगर छैनन् । यहाँ २५ नगरपालिका र ५४ गाउँपालिकासहित ७९ पालिका रहेका छन् ।
१ उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिका सहित जम्मा ८८ पालिका रहेका सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट १४ पालिका प्रमुखमा निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट पालिका प्रमुख पदमा विजेताहरूको विस्तृत विवरण तालिका
नोट : जेठ ८ गते ७०४ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइरहँदा सो अनुसार प्रकाशित भएको यस समाचारलाई निर्वाचनको अन्तिम नतिजा आइसकेपछि सो अनुसार सम्पादन गरिएको हो ।