निकै चासकोका साथ हेरिएको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेणु दाहाल पुन विजयी भएकी छिन् ।
भरतपुर महानगरको १ लाख १६ हजार ६६६ मत गणना हुँदैगर्दा रेणु विजयी भएकी हुन् । अब गणना हुन बाँकी मतभन्दा उनले बढी मतान्तर कायम गरेकी छिन् ।
भरतपुर महानगरमा वैशाख ३० गते भएको निर्वाचनमा एक लाख २७ हजार ८३९ मत खसेको थियो अहिलेसम्मको मतगणनामा रेणुले ११ हजार ५४२ मतान्तर कायम गरेकी छिन् ।
बाँकी रहेको मतपत्रमा रेणुलाई एक मत नपाए पनि उनी स्वत विजयी हुन्छिन् ।
ताजा मतपरिणाम अनुसार दाहालले ४७ हजार २३८ मत पाएकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीको मत ३५ हजार ६९६ छ । तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको भूईँकटहर चुनाव चिह्नमा १४ हजार ३२१ मत खसेको छ ।
प्रमुख पदमा जस्तै उपप्रमुख पदमा पनि मतगणना नसकिँदै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ४८ हजार १३६ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७ हजार ९२४ मत ल्याएकी छिन् ।
यी दुई उम्मेदवारबीच २० हजार २१२ मतान्तर रहेको छ । जुन गणना गर्न बाँकी मतभन्दा बढि हो ।
मतपत्रको गणना सकिएपछि सबै उम्मेदवारको अन्तिम मतपरिणामसहित निर्वाचन आयोगले उनीहरूलाई विजेता घोषणा गर्नेछ ।