आज भएको स्थानीय तह निर्वाचनमा ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बेलुका १० बजेसम्म प्रतप्त भएको प्रारम्भिक विवरणअनुसार राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदानकेन्द्रमा मतदान स्थगित भएको छ ।
उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् ।
लुम्बिनी र गण्डकी प्रदेशका कुनैपनि मतदानकेन्द्रमा मतदान स्थगित नभएको आयोगले जनाएको छ ।
पौडेलले प्रारम्भिक विवरण अनुसार देशभर करिब ६४ प्रतिशत मतदान भएको समेत बताएका छन् । मतदानकेन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका संकलन भइसकेपछि मतगणना यथाशीघ्र सुरु गरिने उनले बताए ।