हिन्दुहरूको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि नेपाली समाजमा रहँदै आएको छ ।
तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको देख्न र सुन्न सकिन्छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजकिरिया गरिरहेका छन् ।
दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजकिरिया गरेका हुन् । एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने बिस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरासरह नै छोरीले जिम्मेवारी पूरा गर्न काजकिरिया बसेको साइँली छोरी प्रेमकुमारी बताउँछिन् ।
छ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो । रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक निधन भएको हो ।
बुवा आमाको काजकिरिया छोराहरूले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउन दिदीबहिनीले गरेको साहसलाई सामाजिक सञ्जालमा धेरैले स्रहाना गरेका छन् ।