आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो ।
सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता सम्बन्धी कानुन जारी गरेका हुन् । हामीले बजारबाट खरिद गर्ने सामान जोख्ने ढक–तराजुले सही मापन ग¥यो कि गरेन भनेर कहिल्यै पनि सोचेका हुदैनौँ । पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको छ ।
दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर खरिद–बिक्री हुने भएपनि त्यसमा प्रयोग हुने ढक–तराजु भने नियमनबाहिर रहेको पाइएको छ । गुणस्तर तथा नापतौल विभागको निष्क्रियताले बजारमा नवीकरण नभएका र नापतौल नै प्रमाणित नभएका ढक–तराजु मात्रै होइन, प्रतिबन्धित ढक–तराजुले पनि सामान तौलने गरिएको बजारमा देखिने गरेपनि सम्बन्धित निकायले चासो नदिँदा उपभोक्ता ठगिन बाध्य भएका हुन् ।
नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । हिमाली जिल्ला म्याग्दीमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु पनि अवैधरूपमा प्रयोग भइरहेका छन् । गुणस्तर तथा नापतौल डिभिजन कार्यालयको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ ।
यसबाट व्यापारी मोटाइ रहेका छन् भने उपभोक्ता दिनहुँ ठगिरहेका छन् । त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन् । व्यवसायीले सामान तौलने प्रयोजनका लागि खरिद गरेका ढक–तराजु परीक्षणबिना प्रयोग गर्न बन्देज छ । तर, उपत्यकामा ५० प्रतिशतभन्दा बढी व्यवसायीले परीक्षण नगराएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । परीक्षण नगरिएका ढक–तराजुबाट उपभोक्ता ठगिने सम्भावना रहने उपभोक्ता मञ्च म्याग्दीले जनाएको छ ।
त्यस्तै उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेको सचेत उपभोक्ताको गुनासो छ । स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भए पनि उपभोग्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।
धेरै स्थानमा मासु व्यवसायी, तरकारी तथा फलफूलका व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको समेत पाइन्छ ।
मासु, फलफूल, तरकारीलगायत अन्य सामान सडकमा राखिएका पसलबाट किन्दा ठगिने गरे पनि उपभोक्तामा त्यसविरुद्ध सम्बद्ध निकायमा उजुरी गर्नुपर्छ भन्ने जानकारी नभएकाले ठगिनुपरेको अधिकारकर्मीको बुझाइ छ ।
अधिकारकर्मीका अनुसार व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । एक किलोको ढकमा एक हजार ग्राम हुन्छ तर ९०० ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ ।
त्यसैगरी एउटै सामानको मूल्य प्रत्येक पसलमा अलग अलग तिर्नुपर्दा उपभोक्ता अन्योलमा पर्ने गरेका छन् । आइतबार बगरफाँटको एक पसलबाट रु ९० मा एक किलो चिनी किनेका उपभोक्ता तेजप्रसाद पौडेलले गाउँको पसलबाट रु ९५ मा किनेको बताउनुभयो । उपभोक्ता अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको छ । तरपनि व्यवहारमा भने उपभोक्ता सधैँ ठगिरहनुपरेको सरोकारवालाको बुझाइ छ ।
उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा नै उल्लेख गरिएको भए पनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिएको छ । व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । इलेक्ट्रोनिक्स तराजुमा सामान राखेपछि कति तौल भयो भनेर माथिपट्टि राखिएको इन्डिकेटरमा रातो अक्षरले देखाउँछ । तराजुको सामान राख्न बनाइएको समतल भागमा जति तौलको सामान राख्यो, इन्डिकेटरले त्यति नै तौल देखाउनुपर्ने हो । तर, व्यवसायीले क्यालिब्रेसन परीक्षण गराउँदै २० देखि ५० ग्रामसम्म बढी बनाउने गरेका छन् । यसो गर्दा यदि क्यालिब्रेसनमा ५० ग्राम बढी बनाइएको छ भने ४५० ग्राम बराबरको वस्तु राख्दा सो तराजुले पाँच सय ग्राम (आधा किलो) परिमाण देखाउँछ ।
त्यसैगरी ठेला वा साइकलमा फलफूल बिक्री गर्ने धेरै व्यापारीले दुईतिर पल्ला भएको काँटावाला तराजु प्रयोग गर्छन् । तराजुको दुईतिर रहेको पल्लाको तौल बराबर हुनुपर्छ । तर, व्यापारीले एउटा गह्रौँ र अर्को तुलनात्मक रूपमा हलुका पल्ला प्रयोग गर्छन् । हलुका पल्लामा ढक र गह्रौँ पल्लामा फलफूल राख्छन् । गह्रौँ पल्लामा थोरै फलफूल राख्दा पनि धेरै हुन्छ र उपभोक्ता ठगिने अधिकारकर्मीले बताएका छन् ।
–––