आगोमा नपोली कोरियन प्रविधिबाट वातावरण मैत्री इट्टा बनाउने ‘गुड ब्रिक्स सिस्टम’ इन्नोसिएसआर कम्पनीले नेपालमा भित्र्याएको छ ।
विभिन्न मुलुकमा वातावरण मैत्री निर्माण सामाग्री उत्पादन विस्तार गर्दै आएको इन्नोसिएसाअरले नेपालमा ‘गुड ब्रिक्स सिस्टम’ विस्तार गरेको हो ।
यो प्रविधिमा इट्टालाई पकाउन नपर्ने र यसमा कोइला लगायत अन्य जैविक इन्धनको प्रयोग नहुनाले यो पूर्ण रूपमा वातावरण मैत्री प्रविधि रहेको वातावरण विद् धर्मराज केसीले बताउँछन् । पूर्ण स्वचालित हाइड्रो लिक प्रेस मेसिनले एक प्रेसमा १८ वटा इट्टा उत्पादन गर्ने क्षमता राख्दछ । यो प्रविधि मार्फत दैनिक ४० हजार वटा सम्म इट्टा उत्पादन गर्न सकिन्छ भने वार्षिक करिब डेढ करोड वटा सम्म इट्टा उत्पादन गर्न सकिन्छ । मौसमी प्रभाव नपर्ने यो प्रविधि मार्फत ३ सय ६५ दिन नै उत्पादन लिन सकिन्छ ।
इट्टाको निर्माणमा माटो, सिमेन्ट र सोयल स्टेब्लाइजरको प्रयोग हुन्छ । कम्पनीको भक्तपुरमा रहेको आधिकारिक परीक्षण केन्द्रमा माटो देखि इट्टाको अवस्था र क्षमता परीक्षण गरिन्छ । सोयल स्टेब्लाइजरको प्रयोगले सिमेन्ट र माटोलाई मजबुतसँग जोड्छ । सोयल स्टेबलाइजर अर्ग्यानिक हुने हुँदा साइड इफेक्ट हुँदैन ।
यो प्रविधिमा गोरखा, भक्तपुर र गाईघाटमा उद्योग सञ्चालनमा आइसकेका छन् । सुदूरपश्चिममा पाइपलाइनमा रहेको छ। यो प्रविधिबाट तयार गरिएको इट्टा प्रति ग्राहकको आकर्षण बढ्दै गएको छ ।
ग्राहक सेवा सहजतालाई मध्यनजर गर्दै छिट्टै कम्पनीले सातै प्रदेशमा उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
पछिल्लो समय यो इट्टाको माग क्रमिक रूपमा वृद्धि हुँदै आएको गोरखा स्थित गुड ब्रिक्स सिस्टम उद्योग ‘गोरखा इनोटेक प्राली’का सञ्चालक विकास श्रेष्ठको भनाइ छ ।
कोरियामा २००८ मा स्थापना भएको इनो सिएसआरले कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, चाइना, नेपाल लगायत विश्वभरका विभिन्न मुलुकका निजी र सरकारी क्षेत्रमा ‘सस्टेनेवल इम्प्याक्ट टेक्नोलोजी सोलुसन’को काम गर्दै आएको छ ।
सन् २०१८ मा नेपाल प्रवेश गरेको यो कम्पनीले करिब दुई वर्ष आवश्यक अध्ययन गरेपछि इट्टा उत्पादन सुरु गरेको हो ।