शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसारको अवसरमा काठमाडौंको बौद्धमा मानिसहरूको रमझम बढेको छ ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पाहरूको नयाँ वर्ष हो । प्रकृति पूजक शेर्पाहरू ग्याल्पो ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्दछन् ।
ल्होसारका दिन यो समुदायमा आफन्त, नातागोता, इष्टमित्र र घरगाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्ने, मिठोमसिनो खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गर्ने चलन छ ।
त्यस्तै घरआँगन तथा घरको छतलगायत गुम्बा, चैत्यहरूमा भएका पुराना ध्वजाहरू आजको दिन हटाएर नयाँ ध्वजाहरू राख्ने गरिन्छ ।
विभिन्न मन्त्रहरू लेखिएका कपडाका यी ध्वजाहरू हिमाली हावाले हल्लाउँदा एकखालको संगीतमय भाव सिर्जना पुग्दछन् । यी ध्वजाहरू संसारभरि शान्तिको एउटा अद्वितीय कामनाका लागि फर्फराउँछन् भन्ने जनविश्वास छ ।
यही अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
बौद्धनाथमा ल्होसारको रमझम हेरौं केही तस्विरमा