महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मङ्गलवार नेपाली सेनाले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ ।
कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झन्डा र सेना दिवस लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिएको छ ।
कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ । त्यसैगरी बढाइँ कवाज अन्तर्गत नेपालको झन्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७८ को आकृतिसमेत प्रस्तुत गरिएको थियो । त्यसै गरी नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाएको छ ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
सेनाको व्यावसायिक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सूट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको थियो । सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्लेसमेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरिन् । सेनाको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणहरूको घुइँचो लागेको थियो । सर्वसाधारणलाई कार्यक्रममा प्रवेश दिने गरिएको छैन ।
सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरू, विदेशी कूटनैतिक नियोगका प्रतिनिधिहरू र विदेशी सेनाका प्रतिनिधिहरू सहभागी भएका थिए ।